Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिरास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना

रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमत नजिक पुगेको छ। तर दुईतिहाइ बहुमतका लागि भने रास्वपालाइ अझै २ सिट अपुग हुने देखिएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ रास्वपाले ५१ लाख ५७ हजार १३० मत प्राप्त गरेको छ। यस आधारमा रास्वपाले समानुपातिकतर्फ करिब ५७ सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाको समानुपातिकसहित कुल सिट संख्या १८२ पुग्ने देखिएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा साधारण बहुमतका लागि १३८ सिट र दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। रास्वपा १८२ सिटमा सीमित हुँदा दुईतिहाइका लागि २ सिट अपुग हुने अवस्था देखिएको हो।

समानुपातिक मतअनुसार नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत पाउँदै २० सिट प्राप्त गर्ने देखिएको छ। प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको कुल सिट संख्या ३८ पुग्नेछ। त्यस्तै नेकपा एमालेले समानुपातिकमा १६ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको कुल सिट संख्या २५ पुग्नेछ।

प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउँदै कुल १७ सिट पुग्ने अनुमान गरिएको छ।यसैगरी प्रत्यक्षमा ३ सिट जितेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट पाउने देखिएको छ।

यससँगै उक्त पार्टीको संसद् प्रतिनिधित्व ७ सिट पुग्नेछ। प्रत्यक्षमा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिकमा ४ सिट पाउने देखिएको छ।

यस आधारमा राप्रपाको कुल सिट संख्या ५ पुग्नेछ। निर्वाचन आयोगका अनुसार समानुपातिक सिट बाँडफाँट ‘सेन्ट–लग’ विधिअनुसार गरिन्छ। यस विधिमा दलहरूले पाएको सदर मतलाई १, ३, ५, ७, ९ जस्ता बिजोर संख्याले भाग गरेर प्राप्त भागफलहरूलाई ठूलोबाट सानो क्रममा राखिन्छ र शीर्ष ११० भागफलका आधारमा सिट निर्धारण गरिन्छ।

समानुपातिक सिट संख्या टुंगिएपछि दलहरूले समावेशी सिद्धान्तअनुसार ३ दिनभित्र बन्दसूचीबाट नाम सिफारिस गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम रूपमा निर्वाचित घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्ने जनाएको छ।

यसैबीच धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार अदालत गएकाले अदालतको आदेश आएमा प्रत्यक्षतर्फ रास्वपाको सिट संख्या थपिन सक्ने सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino