भारतमा संक्रमण बढेपछि नेपाल सतर्क : निपा भाइरस परीक्षण निर्देशिका लागू
काठमाडौं । छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निपा भाइरसको नमुना संकलन तथा परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका लागू गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमणको समयमै पहिचान, नियन्त्रण र उपचार व्यवस्थापनका लागि उक्त निर्देशिका जारी गरेको हो। खुला सीमा, नियमित आवतजावत र क्षेत्रीय संक्रमणको अवस्थाका कारण नेपाल पूर्ण रूपमा सुरक्षित रहन नसक्ने ठहर गर्दै स्वास्थ्य संयन्त्रलाई उच्च सतर्कतामा राखिएको महाशाखाले जनाएको छ।
भारतको पश्चिम बंगाल र केरलासहित बंगलादेशका केही क्षेत्रमा निपा भाइरस देखिँदै आएको पृष्ठभूमिमा नेपालले पूर्वतयारी थालेको हो। निपा भाइरस पहिलोपटक सन् १९९९ मा मलेसियामा पहिचान गरिएको थियो। अनुसन्धानअनुसार फलफूल खाने चमेरो (फ्रुट ब्याट) यस भाइरसको मुख्य स्रोत हो। चमेरोले छोएका फलफूल वा त्यसको रस सेवन गर्दा मानिसमा संक्रमण सर्न सक्ने र संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट पनि भाइरस फैलिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
सरकारले जारी गरेको निर्देशिकाअनुसार उच्च ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या देखिएका, हालै निपा प्रभावित क्षेत्रबाट फर्किएका तथा निपासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिलाई शंकास्पद निपा केस का रूपमा वर्गीकरण गरिएको छ। यस्ता बिरामीलाई तुरुन्त आइसोलेसनमा राखी अस्पताल भर्ना गर्नुपर्ने र उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य रूपमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
परीक्षण कसरी हुन्छ?-निपा भाइरसको शंका लागेमा बिरामीबाट घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सेरेब्रोस्पाइनल फ्लुइड (सीएसएफ) नमुना संकलन गरिनेछ। संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ट्रिपल प्याकेजिङ प्रणाली मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने व्यवस्था गरिएको छ।
प्रयोगशालामा नमुना प्रशोधन गरी रियल–टाइम पीसीआर विधिबाट निपा भाइरस परीक्षण गरिनेछ। नतिजा सकारात्मक आएमा प्रारम्भिक केसका लागि केन्द्रीय प्रयोगशालामा पुनः पुष्टि परीक्षण गरिनेछ। नकारात्मक नतिजा आएमा अन्य सम्भावित रोगहरूको पनि परीक्षण गरिने निर्देशिकामा उल्लेख छ।
लक्षण, जोखिम र उपचार अवस्था -निपा भाइरसको संक्रमण चारदेखि १४ दिनभित्र लक्षण देखिन सुरु हुन्छ। सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिए पनि संक्रमण गम्भीर बन्दै गएमा इन्सेफ्लाइटिस अर्थात् मस्तिष्क सुन्निने समस्या देखिन सक्छ। यस्तो अवस्थामा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत हुन सक्ने चिकित्सकहरू बताउँछन्। निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी जटिलता पनि देखिन सक्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार- निपा संक्रमणबाट निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या देखिन सक्छ। हालसम्म यस भाइरसविरुद्ध कुनै विशेष एन्टिभाइरल औषधि वा खोप उपलब्ध भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस संक्रमणमा मृत्यु दर ४० देखि ७५ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना देखिएको छ।
नेपालमा हालको अवस्था-स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा निपा भाइरस संक्रमण पुष्टि भएको छैन। तर सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका सीमा नाकाहरूमा निगरानी कडा पारिएको छ। अस्पतालहरूलाई शंकास्पद केस देखिए तुरुन्त रिपोर्ट गर्न र आवश्यक आइसोलेसन व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई फलफूल राम्ररी धोएर मात्र सेवन गर्न, ज्वरो वा असामान्य लक्षण देखिए बेवास्ता नगरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।
निपा भाइरसको जोखिमले नेपालमा महामारीभन्दा बढी सतर्कता र तयारीको आवश्यकता औंल्याएको छ। समयमै पहिचान, जिम्मेवार व्यवहार र प्रभावकारी सरकारी संयन्त्र नै यस अदृश्य खतरासँग जुध्ने मुख्य आधार बनेको स्वास्थ्य विज्ञहरूले जानकारी दिएका छन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया