Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियकुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त, चालक दल सुरक्षित

कुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त, चालक दल सुरक्षित


काठमाडौं । मध्यपूर्वी देश कुवेतमा एकभन्दा बढी अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक खबर आएको छ। घटना सोमबार बिहान अल जहरा क्षेत्र नजिक भएको बताइएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार दुर्घटनास्थल कुवेतस्थित अलि अल सलेम एयरबेसबाट करिब १० किलोमिटर टाढा पर्छ। रिपोर्टमा एकभन्दा बढी फाइटर जेट प्रभावित भएको उल्लेख गरिएको छ।

कुवेतको रक्षा मन्त्रालयले केही सैन्य विमान दुर्घटना भएको पुष्टि गर्दै चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता कर्नेल सइद अल अत्वानका अनुसार दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको हो।

उद्धार गरिएका पाइलटहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।दुर्घटनाको कारणबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।

यद्यपि, प्रारम्भिक भिडियो विश्लेषणका आधारमा दुर्घटनाग्रस्त विमान दुई इन्जिनयुक्त अमेरिकी एफ १५ई जेटसँग मिल्दोजुल्दो देखिएको बताइएको छ।

यस्तै बेलायतस्थित अनलाइन पत्रिका टेलिग्राफले इरानी अधिकारीलाई उद्धृत गर्दै उक्त विमान इरानले खसालेको दाबी गरेको खबर छ। तर यस विषयमा आधिकारिक पुष्टि भने अझै हुन बाँकी छ।

कुवेतले घटनाबारे अमेरिकी पक्षसँग प्रत्यक्ष समन्वय गरिरहेको जानकारी दिएको छ। थप विवरण आउने क्रम जारी छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको