Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारसुरक्षा संवेदनशीलता बढेपछि वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा

सुरक्षा संवेदनशीलता बढेपछि वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा


काठमाडौं । वीरगञ्जका मुख्य तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्न तोकिएका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क क्षेत्र, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेट रहेका छन् ।

प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

पछिल्लो समय वीरगञ्जमा सुरक्षा संवेदनशीलता बढ्दै गएपछि शान्ति सुव्यवस्था कायम गर्न यो कदम चालिएको प्रशासनको भनाइ छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको