Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिभदौ २३–२४ घटनाबारे जाँच सकियो, पूर्वप्रधानमन्त्री ओलीको स्थानहद फुकुवा

भदौ २३–२४ घटनाबारे जाँच सकियो, पूर्वप्रधानमन्त्री ओलीको स्थानहद फुकुवा


काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरेको छ।

आयोगले आइतबार ओलीसँग बयान लिएपछि सोमबार बसेको बैठकबाट स्थानहद हटाउने निर्णय गरेको हो।

यसअघि आयोगले गत असोज १२ गते तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित केही व्यक्तिमाथि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरेको थियो। तर, अनुसन्धानका क्रममा आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेकाले उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले स्थानहद फुकुवा गरेको जनाएको छ।

आयोगका प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, २०८२ पुस २१ गते सोमबार बसेको आयोगको बैठकले ओलीमाथि लगाइएको विदेश भ्रमण प्रतिबन्ध र उपत्यका बाहिर जान नपाउने व्यवस्था २०८२/६/१२ को बैठकबाट गरिएको निर्णय हटाउने निर्णय गरेको हो ।

विज्ञप्तिमा भदौ २३ र २४ का घटनासम्बन्धमा प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका कामकारबाहीबारे आयोगले आवश्यक अनुसन्धान तथा सोधपुछ पूरा गरिसकेको उल्लेख छ।

त्यसैले अब उहाँमाथि लगाइएको प्रतिबन्ध कायम राख्नुपर्ने अवस्था नरहेको आयोगको निष्कर्ष छ।

आयोगले यस निर्णयबारे सम्बन्धित निकाय तथा सम्बन्धित व्यक्तिलाई जानकारी गराइसकिएको पनि जनाएको छ। साथै, आयोगका प्रेस विज्ञप्ति र सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमार्फत समेत हेर्न सकिने प्रवक्ता शर्माले जानकारी दिए।



तपाईको प्रतिक्रिया

धेरैले पढेको