Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिबिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग

बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग


काठमाडौं, पुस २१
स्मार्ट टेलिकम पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक हितेन्द्रदेव शाक्यसँग भेट गरी आफ्ना माग तथा समस्याबारे ध्यानाकर्षण गराएको छ।
आज रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा पीडितहरूले स्मार्ट टेलिकमको स्वामित्व नेपाल दूरसञ्चार प्राधिकरणले लिइसकेपछि टावरमा प्रयोग भएको विद्युत् महसुल तिर्ने दायित्व पनि दूरसञ्चार प्राधिकरणकै हुनुपर्ने माग राखेका छन्। त्यसविपरीत वितरण केन्द्रहरूले घरधनीको घरायसी प्रयोजनको विद्युत् लाइन काट्ने कार्य अनुचित र अन्यायपूर्ण भएको पीडितहरूको भनाइ छ।
भेटका क्रममा महाप्रबन्धक शाक्यले समस्या समाधान प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारे। उनले स्मार्ट टेलिकमसम्बन्धी दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने धारणा व्यक्त गर्दै पीडित पक्षले पनि सोही अनुसार पहल गर्न सुझाव दिए।
संघर्ष समितिका अध्यक्ष पन्नकाजी महर्जनका अनुसार स्मार्ट टेलिकमका टावर राखिएका कारण देशभर झण्डै १,७०० भन्दा बढी घरधनी पीडित भएका छन् भने काठमाडौं उपत्यकामा मात्रै करिब ४०० घरधनी प्रभावित छन्।
यसैगरी अभियन्ता राजाराम तन्डुकारले घरमा जडान गरिएको घरायसी प्रयोजनको विद्युत् लाइन काट्न स्थानीय वितरण केन्द्रहरू घर–घर धाउनु दुःखद र आपत्तिजनक भएको बताए। उनले जबर्जस्ती गरिएमा त्यसको प्रतिकार गरिने चेतावनीसमेत दिए। उनका अनुसार घरधनीसँगै रिचार्ज कार्ड व्यवसायी र अन्य भेन्डरहरू पनि यस समस्याबाट पीडित भएका छन्।
संघर्ष समितिका अनुसार पछिल्ला दुई वर्षदेखि पीडितहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल विद्युत प्राधिकरण, सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरकारी निकाय धाउँदै आए पनि समस्या समाधान हुन नसक्दा थप निराशा बढेको छ।
पीडितहरूले समस्या तत्काल समाधान नगरे कडा संघर्षका कार्यक्रम अघि बढाउने संकेत गरेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको