Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस

कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस


२२ पुस, कालिकोट ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस हुनु भएको छ।
मंगलबार कालिकोटको खुलालुमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समितिको विशेष बैठकले सर्वसम्मत रूपमा प्रवक्ता प्रकाण्डलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो। जिल्ला इन्चार्ज विवेक सीका अनुसार श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता, सहिद परिवारका सदस्य तथा कर्णालीमा माओवादी आन्दोलन विस्तार गर्ने प्रमुख नेतृत्वको रूपमा प्रकाण्डलाई उम्मेदवार सिफारिस गरिएको हो।
कालिकोटका अधिकांश जनताले प्रवक्ता प्रकाण्डलाई माओवादी जनयुद्धको सुरुवात गर्ने जन्मदाता तथा कर्णाली क्षेत्रका प्रभावशाली नेताका रूपमा चिन्ने गरेका छन्। उहाँ २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भारी मतका साथ विजयी हुनु भएको थियो।
प्रचण्ड नेतृत्वको माओवादीले जनताको अपेक्षा अनुसार काम नगरेको निष्कर्षसहित क्रान्तिका अधुरा सपना पूरा गर्ने उद्देश्यका साथ २०७९ सालमा विप्लव नेतृत्वसँगै नयाँ पार्टी निर्माण गर्दै प्रकाण्ड अलग हुनु भएको थियो। त्यसयता उहाँ कालिकोटबाट चुनावी प्रतिस्पर्धामा सहभागी हुनु भएको थिएन। प्रचण्डबाट अलग भएपछि उहाँका नजिकका नेताहरू महेन्द्रबहादुर शाही र दुर्गबहादुर रावत प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए।
प्रचण्डसँगको राजनीतिक विभाजनपछि प्रवक्ता प्रकाण्डले विप्लव नेतृत्वको एकीकृत जनक्रान्तिको अभियानमा दोस्रो प्रमुख नेताको भूमिका निर्वाह गर्दै देश र जनताको हितमा महत्वपूर्ण योगदान दिँदै आउनु भएको छ। केपी शर्मा ओली प्रधानमन्त्री रहेको तथा प्रचण्ड–ओली नेतृत्वमा पार्टी एकता गरी नेकपा बनेको अवधिमा भ्रष्टाचारविरुद्ध कारबाही गरेकै कारण प्रकाण्ड नेतृत्वको पार्टीले करिब दुई वर्ष प्रतिबन्धको सामना गर्नुपरेको थियो।
२०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिपछि तत्कालीन नेकपा तथा हालको नेकपा (माओवादी) खुला राजनीतिमा प्रवेश गरेको हो। एकीकृत जनक्रान्तिको एक मोर्चाका रूपमा २०८२ फागुन २१ गतेको निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार पार्टीले गत मंसिर २ गते निर्वाचन आयोगमा औपचारिक रूपमा नेकपा (माओवादी) नाममा दर्ता भई निर्वाचन प्रक्रियामा सहभागी भएको छ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले माधव नेपाललगायत साना दलहरूसँग एकता गर्दै माओवादी पहिचान त्यागी नेपाली कम्युनिष्ट पार्टी बनाएपछि विप्लव नेतृत्वको पार्टीले जनयुद्धकालीन नाम नेकपा (माओवादी) पुनः प्रयोग गरेको हो। निर्वाचन आयोगबाट गुलाफ चिन्ह प्राप्त गरेको माओवादीले समानुपातिकतर्फ बन्द सूची पेश गरिसकेको छ भने प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गर्न थालेको छ।
यसैक्रममा नेकपा (माओवादी) कालिकोटले प्रतिनिधिसभा निर्वाचनका लागि प्रवक्ता प्रकाण्डको नाम एकल रूपमा सिफारिस गरेको हो, जसले जिल्लामा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। एकातर्फ नेपाली कम्युनिष्ट पार्टीबाट प्रचण्ड र अर्कोतर्फ माओवादीबाट प्रकाण्ड उम्मेदवार सिफारिस हुनु विगतमा एउटै पार्टीका नेताहरू अहिले फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रने अवस्था बनेको भन्दै यसले व्यापक चासो जन्माएको स्थानीय नेताहरू बताउँछन्।
कालिकोटका जनताले भने स्थानीय स्तरमै जरा गाडेको, देश र जनताप्रति प्रतिबद्ध नेता भएकाले प्रवक्ता प्रकाण्ड नै विजयी हुने व्यापक अनुमान गर्न थालेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको