Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिनेतृत्व र आचरणप्रति असन्तुष्टि जनाउँदै एमाले वडा सदस्य मदन स्याङ्तानद्वारा पार्टी परित्याग

नेतृत्व र आचरणप्रति असन्तुष्टि जनाउँदै एमाले वडा सदस्य मदन स्याङ्तानद्वारा पार्टी परित्याग


काठमाडौं । नेकपा (एमाले) भित्रको नेतृत्व, आचरण र कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै राक्सिराङ गाउँपालिका–४, मकवानपुरका निर्वाचित वडा सदस्य मदन स्याङ्तानले पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै आफू अब कुनै पनि रूपमा नेकपा एमालेसँग आबद्ध नरहने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा आम नागरिकको चाहना सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण भएको उल्लेख गरेका छन् । देशको आवश्यकता इतिहासको गति र जनताको अपेक्षालाई सम्बोधन गर्नु आजको राजनीतिक नेतृत्वको मुख्य दायित्व भए पनि पार्टी नेतृत्व त्यसमा असफल भएको उनको निष्कर्ष छ ।

उनले पार्टीको मूल नेतृत्वदेखि जिल्ला तथा स्थानीय तहसम्मका नेताहरूको आचरण, व्यवहार र निर्णय प्रक्रियाले देश र आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसकेको गम्भीर आरोप लगाएका छन् । पार्टीभित्रै रहेर सुधारको अपेक्षा गर्दा पनि कुनै सकारात्मक संकेत नदेखिएपछि अन्ततः पार्टीको साधारण सदस्यता समेत त्याग्ने निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

“देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीति अपरिहार्य शर्त हो,” भन्दै उनले यी मूल्य र मान्यताहरू व्यवहारमा उतार्न पार्टी नेतृत्व असफल भएको संकेत गरेका छन् । पार्टी परित्यागको निर्णयले आफ्ना साथीभाइ तथा शुभेच्छुकहरूलाई पर्न गएको असहजताप्रति क्षमायाचना गर्दै उनले आगामी दिनहरूमा दलगत आबद्धता भन्दा माथि उठेर सामाजिक उत्तरदायित्वका काम र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिकै तहबाट आएको यस प्रकारको कडा राजनीतिक निर्णयले राक्सिराङको स्थानीय राजनीति मात्र होइन, एमालेको आन्तरिक अवस्था र नेतृत्व शैलीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।

यस घटनापछि पार्टीभित्र थप असन्तुष्टि सतहमा आउने हो कि भन्ने चासो समेत बढेको छ । साथै
यो घटनाले स्थानीय राजनीति तरंगित बनेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको