Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठअन्यपश्चिमी वायुको आंशिक प्रभाव : पहाड र हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : पहाड र हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना


काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्यदेखि आंशिक बदली रहनेछ, भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातसँगै वर्षा हुनसक्ने सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका तल्लो भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहने बताएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम स्तरको हिमपात र वर्षा हुने सम्भावना रहेको छ भने, अन्य प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्छ।

यसका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा तराईका केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसमेत देखिन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले जानकारी गराएका हुन्।।

मौसममा आएको यस परिवर्तनले दैनिक जनजीवन, यात्रा तथा कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सबैलाई अनुरोध गरेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको