Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठअर्थतन्त्र९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा राख्दै राष्ट्र बैंक, बैंकहरूलाई आवेदन आह्वान

९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा राख्दै राष्ट्र बैंक, बैंकहरूलाई आवेदन आह्वान


काठमाडौं। नेपाल राष्ट्र बैंक ले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा राखिने जनाइएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड रुपैयाँ, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन्।

निक्षेप लिन चाहने संस्थाको निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ८ प्रतिशतभन्दा बढी हुन नहुने सर्त तोकिएको छ। साथै, कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष कायम गरेको, तरलता तथा कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने उल्लेख छ।

त्यस्तै, समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, शिघ्र सुधारात्मक कारबाहीबाट मुक्त भएको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरू पनि राखिएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको