Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारनिर्वाचन सुरक्षा उच्च प्राथमिकतामा, ८० हजार सैनिक परिचालनको तयारी

निर्वाचन सुरक्षा उच्च प्राथमिकतामा, ८० हजार सैनिक परिचालनको तयारी


काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
निर्वाचनलाई सुरक्षित, स्वच्छ र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ सेना परिचालन गर्न लागिएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकार र राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको करिब एक महिनाअघि नै सेनालाई फिल्डमा परिचालन गरिनेछ ।

निर्वाचनको तयारीदेखि मतगणनासम्म सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी सम्हाल्नेछ ।निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा सेना खटिनेछ । यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग घनिष्ठ समन्वय गरिने बताइएको छ।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचन स्थल तथा केन्द्रको सुरक्षा गर्नेछ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्म सेनाले जिम्मेवारी बहन गर्नेछ ।

सरकारले प्रदेशस्तरमा भइरहेका सुरक्षा गोष्ठीबाट प्राप्त सुझावका आधारमा आवश्यक परे थप सुरक्षा प्रबन्ध मिलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षा राज्यको प्रमुख प्राथमिकता भएको भन्दै सबै सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको सेनाको भनाइ छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला पक्षबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने नेपाली सेनाले जानकारी गराएको छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको