Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिसभामुख घिमिरे र चिनियाँ राजदूत सोङबिच बिदाइ भेट

सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबिच बिदाइ भेट


काठमाडौं  – सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन पुर्‍याएको योगदानको प्रशंसा गर्नु भएकोे छ । सभामुख घिमिरेले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त समेत गर्नुभएको हो । 

भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताउनु भयो ।
उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको पनि बताउनु भएकाे छ।

भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुख घिमिरेले प्रशंसा गर्नुको साथ साथै नेपाल–चीन संसदबिच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गर्नु भएको छ ।

सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको उदार विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता अन्तर्गतका तथा अन्य विकास सहायता परियोजनाहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताउनु भएको छ । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरेका छन् । 

राजदूत सोङले नेपाल र चीनबिच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताएका हुन् । उनले केही दिनअघि नेपाल–चीन आर्थिक सहकार्य र लगानी सम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्नका लागी इच्छुक रहेका जानकारी दिनुभएको छ । राजदूत सोङले आफ्नो चीन वर्षे कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताउनु भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको