Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिनिर्वाचनको बाटोमा मुलुक- सञ्चारमन्त्री खरेल

निर्वाचनको बाटोमा मुलुक- सञ्चारमन्त्री खरेल


काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक प्रतिनिधिसभा निर्वाचनतर्फ औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन विकसित अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खरेलले प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलबाट निर्वाचनमा जाने सहमति जुटेको जानकारी दिए।

उनका अनुसार सरकारले पछिल्लो एक सातामा राजनीतिक दल, जेन–जी आन्दोलनका प्रतिनिधि तथा सरोकारवाला पक्षहरूसँग सघन संवाद गरेको छ। प्रमुख दलका कार्यालय र नेताहरूको निवासमै पुगेर वार्ता गरिएको उनले बताए।

“सबै राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने प्रक्रिया अघि बढिसकेको छ,” मन्त्री खरेलले भने, “मुलुक अब निर्वाचनको दिशामा स्पष्ट रूपमा अघि बढेको छ।”

उनले नयाँ दलहरूबीचको एकता र सहकार्यले पनि निर्वाचनको वातावरण निर्माण भएको उल्लेख गरे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत देश विकास र समृद्धिको यात्रामा अघि बढ्ने उनको विश्वास छ।

मन्त्री खरेलले निर्वाचनपछि गठन हुने सरकारले नयाँ पुस्ताले उठाएका मागअनुसार सुशासन कायम गर्ने, जेन–जी आन्दोलनको भावना सम्बोधन गर्ने र भ्रष्टाचार अन्त्यतर्फ ठोस कदम चाल्ने बताए। उनले सबै राजनीतिक दल तथा सरोकारवाला पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण अपरिहार्य रहेको बताउँदै सामग्री बलियो, प्रस्तुति सिर्जनात्मक, प्रविधिमैत्री र सर्वसाधारणको पहुँचमा हुने खालको हुनुपर्नेमा जोड दिए।



तपाईको प्रतिक्रिया

धेरैले पढेको